काठमाडौँ —राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानले सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयन नभए नेपाल बन्द र आम हड्ताल गर्ने चेतावनी दिएको छ। महाभियानका अध्यक्ष दुर्गा प्रसाईं ले विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयनका लागि समयसीमा तोकेका हुन्।

विज्ञप्तिअनुसार फागुन ७ गतेसम्म सरकारले सम्झौता “हुबहु” कार्यान्वयन नगरे फागुन ८ गतेदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनिश्चितकालीन नेपाल बन्द र आम हड्ताल गरिने उल्लेख गरिएको छ।

महाभियानले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी नहुन विभिन्न पेशा र समूहका नागरिकलाई अपिल पनि गरेको छ। अपिलमा राष्ट्रवादी, देशभक्त, सुरक्षाकर्मी, निजामती कर्मचारी, मजदुर, किसान, पत्रकार तथा सर्वसाधारणलाई लक्षित गरिएको छ।

घोषित कार्यक्रमअनुसार बन्दको दिन सवारीसाधन, शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार–व्यवसायसमेत बन्द गरिने बताइएको छ।