कास्की—कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणतर्फका मुद्दा फिर्ता लिने निर्णय गरेपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो।
तर सुनुवाइका क्रममा जिल्ला न्यायाधीश नितिश राईको इजलासले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो। सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र थप निर्णय गरिने जनाइएको छ।
यसअघि रूपन्देही जिल्ला अदालतले पनि सोही प्रकृतिको मुद्दा तत्काल फिर्ता नगर्ने आदेश दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ।


















