काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। मधेश प्रदेश सभापति नेपाली कांग्रेस प्रवेश गरेको २४ घण्टा नबित्दै उनले राजीनामा दिएका हुन्।

हुमागाईँले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सात बुँदे कारण खुलाउँदै राजीनामा बुझाएको बताएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका उनले पार्टीभित्र आर्थिक अपारदर्शिता बढेको र ‘गणेश प्रवृत्ति’ भएका व्यक्तिहरूको मात्र प्रभाव बढेको आरोप लगाएका छन्।

उनका अनुसार उम्मेदवार छनोट प्रक्रियामा आर्थिक चलखेल भएको छ। लामो समयदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट हालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको दाबी छ। सामाजिक सञ्जालमार्फत उनले समानुपातिक सूचीसमेत जाँचेर मात्र मत दिन मतदातालाई अपिल गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा रास्वपाबाट बाहिरिने नेताहरूको संख्या बढिरहेको छ। यसअघि मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला) ले पनि राजीनामा दिएका थिए। त्यस्तै, प्रणय राणा पनि पार्टीबाट बाहिरिएका छन्।

जेनजी आन्दोलनपछि केन्द्रीय तहका केही नेताहरूले पनि पार्टी छोडेका थिए, जसमा सन्तोष परियार र सुमना श्रेष्ठ चर्चित नाम मानिन्छन्।

रास्वपा परित्याग गर्ने अधिकांश नेताहरूले नेतृत्वपंक्तिमाथि आर्थिक अनियमितता, टिकट वितरणमा मनोमानी र विधि–पद्धति उल्लंघनको आरोप लगाउँदै आएका छन्।