दाङ—दाङमा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले दिएको जानकारीअनुसार २०८२ फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको घटनामा थप २ युवकलाई नियन्त्रणमा लिइएको हो। 

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाकै वडा नं. ४, हलवारका वर्ष ३० वर्षीय प्रहरीले रमेश राना मगर र सोही उपमहानगरपालिका वडा नं. ६, गाइडरका २४ वर्षीय विक्रम परियारलाई प्रहरीले पक्राउ गरेकाे हाे। 

यसअघि त्यही घटनामा अनुसन्धानका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी वर्ष ५५ का बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेकाे थियाे।

हालसम्म पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी जारी रहेको डीएसपी बोहराले जानकारी दिए ।

फागुन ७ गते बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।