काठमाडौँ—राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि झन्डै डेढ करोड रुपैयाँ संकलन भएको जानकारी गराएकी छन् ।
सार्वजनिक आह्वान भएको २४ घण्टाभित्रै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको उनले बताएकी छन्।
छोटो समयमै ठूलो सहयोग जुटेपछि उनले मंगलबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै लेखेकी छन्, “आज धन्यवाद शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रूपमा यहाँहरूले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ । यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।”
उनले खेलाडीका रूपमा आफूले कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा वा उपाधि नभई दर्शक–समर्थकको माया, भरोसा र समर्थन भएको अनुभूति भएको पनि उल्लेख गरेकी छन्।
उपचारका लागि आवश्यक रकम संकलन भइसकेको जनाउँदै उनले आजदेखि दुवै खातामा थप सहयोग नगर्न आग्रह गरेकी छन्।
साम्बा घुँडामा लागेको गम्भीर चोटको शल्यक्रियाका लागि कतार जाने तयारीमा रहेकी छन्।




















