काठमाडौं — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूबीच अन्तिम समयमा रणनीतिक सहकार्य हुन सक्ने चर्चा सुरु भएको छ। विभिन्न निकायले गरेको आन्तरिक मत सर्वेक्षणका आधारमा केही क्षेत्रमा अप्रत्यासित परिणाम आउन सक्ने आँकलन गरिएपछि शीर्ष नेताहरूबीच ‘क्रस–सपोर्ट’ को सम्भावना बढेको स्रोतको दाबी छ।
विशेषतः झापा निर्वाचन क्षेत्र नम्बर–५ मा रोचक प्रतिस्पर्धा देखिएको बताइन्छ। उक्त क्षेत्रमा केपी शर्मा ओली उम्मेदवार रहेका छन्। स्रोतका अनुसार श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपा पृष्ठभूमिका दमक नगरपालिकाका मेयर राम थापा समेत ओलीलाई समर्थन गर्ने तयारीमा रहेको चर्चा छ। स्थानीय तहमा उनीहरूको प्रभावले ३ देखि ४ हजार मत तलमाथि पार्न सक्ने आँकलन गरिएको छ।
यता, शीर्ष तहमा पनि रोचक समीकरणको सम्भावना औंल्याइएको छ। स्रोतका अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच केही क्षेत्रमा एकअर्कालाई सघाउने समझदारी बन्न सक्ने संकेत गरिएको छ। तीनै दलले एक–एक निर्वाचन क्षेत्रमा रणनीतिक सहयोग गर्ने विकल्पबारे छलफल भएको दाबी गरिएको छ।
सर्लाही–४ मा गगन थापालाई एमालेले समर्थन गर्ने र झापा–५ मा कांग्रेसले ओलीलाई सघाउने सम्भावनाबारे पनि चर्चा छ। यद्यपि यसबारे औपचारिक पुष्टि भने कुनै दलले गरेको छैन।
कांग्रेसभित्र देउवा पक्षधर नेताहरूले झापामा ओलीलाई मत दिन सक्ने संकेत गरेको दाबी स्रोतले गरेको छ। सभापति शेरबहादुर देउवा माथि आक्रमण हुँदा ओलीले प्रतिरक्षा गरेको प्रसंगलाई ‘गुण तिर्ने अवसर’ का रूपमा लिएको विश्लेषणसमेत गरिएको छ। यद्यपि यसबारे पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन।
यसैबीच तनहुँ–१ बाट उपचुनाव जितेका सांसद स्वर्णिम वाग्ले क्षेत्रमै सक्रिय नरहेको आरोपसमेत उठेको छ। स्थानीय स्तरमा यस्ता विषयले मतदाताको धारणा प्रभावित गर्न सक्ने विश्लेषकहरू बताउँछन्।
चुनावको अन्तिम चरणमा प्रवेश गरिसकेको अवस्थामा सम्भावित समीकरण, अन्तिम समयको समझदारी र स्थानीय प्रभावशाली व्यक्तिहरूको समर्थनले नतिजामा प्रभाव पार्न सक्ने देखिएको छ। तर यस्ता चर्चाहरू औपचारिक निर्णयमा परिणत नभएसम्म राजनीतिक अड्कलबाजीकै रूपमा रहने विश्लेषकहरूको भनाइ छ।


















