काठमाडौं—बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आह्वान गरेको छ। समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरिएको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए।
दुई पार्टीबीच भएको समझदारीअनुसार प्रत्यक्षतर्फ कांग्रेसलाई सहयोग गर्ने सहमति भएको अध्यक्ष खत्रीले बताए।
यसअघि २०७४ सालको निर्वाचनमा बाबुराम भट्टराईले कांग्रेससँग तालमेल गरी गोरखा क्षेत्र नम्बर २ बाट विजय हासिल गरेका थिए।
यस पटक प्रलोपाले गोरखाका दुवै क्षेत्रमा दर्ता गराएका आफ्ना उम्मेदवार फिर्ता लिँदै कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो।


















