काठमाडौं— इरानले संयुक्त अरब इमिरेट्समा गरेको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार मृतकमध्ये एक जना नेपाली नागरिक रहेका छन्। उनको नाम अझै सार्वजनिक गरिएको छैन।

गल्फ न्युजका अनुसार घटनामा एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको पनि ज्यान गएको छ। मृतकहरूको परिचय औपचारिक रूपमा खुलाइएको छैन।

आक्रमणमा ५८ जना घाइते भएका छन्। घाइतेहरू यूएईसहित इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेको जनाइएको छ। अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।

यूएई रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८, २०२६ देखि सुरु आक्रमणयता १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन प्रहार भएका छन्। तीमध्ये १५२ मिसाइल नष्ट गरिएको, १३ समुद्रमा खसेको तथा दुवै क्रुज मिसाइल ध्वस्त पारिएको जनाएको छ। ५०६ ड्रोन बीचमै रोकिएको र ३५ देशभित्र खसेर भौतिक क्षति पुगेको उल्लेख गरिएको छ।

मन्त्रालयले सशस्त्र बल जुनसुकै खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको जनाउँदै नागरिकलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह नफैलाउन आग्रह गरेको छ।