काठमाडौं—पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका नेपाली कांग्रेसका पुराना नेता रामविलासप्रसाद यादव युवा समर्थकहरूको समूहसहित नेपाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका मधेस प्रदेश महासमिति सदस्य तथा पूर्व गाविस उपाध्यक्षसमेत रहनुभएका यादवले सोमबारदेखि पार्टी परित्याग गरी एमालेमा आबद्ध भएका हुन् ।

उनलाई पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार प्रदीपकुमार यादवले पार्टीमा स्वागत गरेका छन् । स्वागत कार्यक्रममा स्थानीय युवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।

एमाले प्रवेशपछि नेता यादवले देश र जनताको हितलाई केन्द्रमा राख्दै नयाँ उत्साह र प्रतिबद्धतासहित राजनीतिक यात्रालाई अगाडि बढाउने विश्वास व्यक्त गरे । बदलिँदो राजनीतिक परिवेशमा स्थायित्व, विकास र सुशासनका लागि एमाले उपयुक्त शक्ति भएको निष्कर्षमा आफू पुगेको उनले बताए ।

हरपतगञ्ज क्षेत्रमा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका  यादवको एमाले प्रवेशलाई स्थानीय राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशमा नेताहरूको दलबदल र ध्रुवीकरण तीव्र बन्दै गएको छ।