काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक एक्कासी ‘गायब’ भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको आधिकारिक फेसबुक पेज सर्च गर्दा नदेखिएको हो। लामिछानेसँग सम्बन्धित अन्य फेसबुक प्रोफाइल तथा पेजहरू भने उपलब्ध छन्, तर भेरिफाइड पेज मात्र हटेको देखिएको छ।
निर्वाचनअघि चुनावी प्रचारका लागि सक्रिय रूपमा प्रयोग गरिएको उक्त पेजमा उनले सोमबार राति मत माग्दै भिडियो सार्वजनिक गरेका थिए। त्यसपछि भने पेज नै सर्च गर्दा नदेखिने अवस्था आएको हो।
पेज प्राविधिक कारणले हटाइएको हो वा अन्य कुनै कारणले निष्क्रिय पारिएको हो भन्नेबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन।


















