जनकपुरधाम—धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुर टोलमा नगद रकम बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महराबाट ४५ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ। घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद र आर्थिक कारोबार विवरण उल्लेख गरिएको डायरीसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोली पुगेपछि महरसँगै रहेका तीन जना भने फरार भएका छन्। पक्राउ परेका उम्मेदवार तथा प्रयोग गरिएको सवारीसाधन आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



















