काठमाडौं—नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनको मौन अवधिमा पार्टी नेतृत्व र उम्मेदवारविरुद्ध भ्रामक सामग्री प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत तारा चिन्हबाहक उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना तथा हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को आवाज जस्तो बनाइएका नक्कली भिडियोहरू प्रसारित गरिएको दाबी गर्दै त्यस्ता सामग्री बन्द गर्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरिएको छ।
नेकपाले ‘देश जलाउने, जेनजी युवाहरूको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरू’ यस्ता दुष्प्रचारमा लागेको आरोप लगाएको छ। यस्ता गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण भएको पार्टीको ठहर छ।
वक्तव्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा सम्बन्धित प्लेटफर्ममा तुरुन्तै रिपोर्ट गर्न आह्वान गरिएको छ।
‘सत्य, तथ्य जाँच र मतदाताको सचेत पहलले मात्र यस्ता भ्रमपूर्ण प्रचारलाई परास्त गर्न सकिन्छ,’ पुनले भनेका छन्, ‘सबै समर्थक तथा शुभेच्छुकलाई झुटा प्रचारको तत्काल प्रतिकार गर्न र सधैं सत्य र न्यायको पक्षमा उभिन आह्वान गर्दछु।’


















