काठमाडौँ — मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग) मतदान केन्द्रमा खटिएका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी (सहायक पाँचौँ तह) रंजित सिवालाई प्रहरीले पक्राउ गरेको हो।
रंगेली नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षीय सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसँग झै–झगडा तथा गालीगलौज गरी निर्वाचन प्रक्रियामा असहयोग गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ का प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी हरिनन्दन चौधरीले बताए।
इलाका प्रहरी कार्यालय सिजुवा बाट खटिएको प्रहरी टोलीले सिवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ।



















