काठमाडौं—निर्वाचन आयोग नेपाल ले देशका विभिन्न स्थानमा संकलन भएका मतपेटिकाको मतगणना आज रातिबाटै सुरु हुने जनाएको छ।
मतदान सकिएपछि काठमाडौं मा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मतपेटिका छिटो संकलन गरेर परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए। उनका अनुसार जहाँ मतपेटिका संकलन भइसकेको छ, त्यहाँ आजै रातिबाट मतगणना सुरु गरिनेछ।
ललितपुर सहित विभिन्न स्थानका मतदान अधिकृतहरूले मतपेटिका संकलन गरेर आजै राति गणना सुरु गर्ने तयारी गरेका छन्। त्यसैगरी कैलाली जिल्ला र झापा जिल्ला मा पनि आज रातिबाट मतगणना सुरु हुने जनाइएको छ।
झापामा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकारी तुलसी नेपाल का अनुसार मतपेटिका संकलनपछि राजनीतिक दलहरूसँगको सर्वदलीय बैठक बसेर राति १२ बजेदेखि मतगणना सुरु गरिनेछ।
यसैबीच दुर्गम तथा हिमाली जिल्लाका मतपेटिका ढुवानीका लागि १५ जिल्लामा हेलिकोप्टर प्रयोग गरिने तयारी गरिएको छ। हिमाली क्षेत्रका मतपेटिका भने शुक्रबार बिहानसम्म संकलन गरिने जनाइएको छ।


















