काठमाडौँ—मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का उम्मेदवार हार्ने अवस्था बनेपछि पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

आज (आइतबार) बिहान सार्वजनिक प्रतिनिधिसभा निर्वाचनको मकवानपुर–२ को अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्।

यस्तै, क्षेत्र नम्बर १ मा पनि रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेकाले एमालेको हार लगभग निश्चितजस्तै देखिएको छ।

यसै अवस्थालाई ध्यानमा राख्दै पोखरेलले सामाजिक सञ्जाल Facebook मार्फत तत्काल प्रभावबाट जिल्ला अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

फेसबुकमा उनले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।

पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले परिणामको जिम्मेवारी स्वीकार गर्दै आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।

पोखरेलले शीर्ष नेतृत्वले समेत पराजयको नैतिक जिम्मेवारी लिएर आवश्यक परे पद त्याग गर्दै पार्टी पुनर्गठनतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनी २०८१ जेठ २१ गते ३१३ मतसहित जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।