काठमाडौं—प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) भित्र नेतृत्व परिवर्तनको चर्चा सुरु भएको छ। पार्टी अध्यक्ष के. पी. शर्मा ओली लाई पदबाट हटाउने वा नेतृत्व छाड्न आग्रह गर्ने विषयमा आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ। सकेसम्म उनलाई स्वेच्छिक रूपमा राजीनामा दिएर नेतृत्व छाड्न राजी गराउने प्रयास हुने बताइएको छ। यदि उनले त्यसो गर्न नमानेमा पार्टीको विधानअनुसार प्रक्रिया अघि बढाउने सम्भावना पनि रहेको बताइन्छ।

स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल नेतृत्व परिवर्तनको पहलमा सक्रिय देखिएका छन्। चुनावी हारपछि उनले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीको गम्भीर समीक्षा गर्दै पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। यस विषयमा उनले केही पदाधिकारीहरूसँग प्रारम्भिक छलफल पनि गरेका छन्।

तर सबै नेताहरू यस प्रस्तावमा सहमत छैनन्। महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेतराजन भट्टराई भने ओलीकै नेतृत्व निरन्तर रहनुपर्ने पक्षमा रहेको बताइएको छ। यस कारण पार्टीभित्र दुई धार देखिएको स्रोतको भनाइ छ।

यदि सहमतिमा समाधान ननिस्किए पार्टीको विधानअनुसार विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्ने विकल्प पनि खुला रहेको बताइन्छ। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का बहुमत सदस्यले लिखित माग गरेमा केन्द्रीय समितिले छ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रावधान रहेको छ।

पार्टीभित्र केही नेताहरूले नेतृत्व शैली, विधानमा गरिएको परिवर्तन तथा आन्तरिक निर्णय प्रक्रियाप्रति असन्तुष्टि बढ्दै गएको पनि स्रोतले दाबी गरेको छ।