काठमाडौँ— जेनजी अलायन्स फर मोनार्की (राजतन्त्र)ले ‘जेनजी घटना’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।
अलायन्सले प्रतिवेदन सरकारको हातमा पुगिसकेको दाबी गर्दै अब ढिलाइ गर्ने कुनै कारण नरहेको जनाएको छ। जारी विज्ञप्तिमा भनिएको छ, “अब कुनै बहाना छैन, कुनै समयसीमाको प्रतीक्षा छैन। जेनजी अलायन्स फर मोनार्की यस कामचलाउ सरकारसँग स्पष्ट र अन्तिम माग राख्दछ— यो प्रतिवेदन पूर्ण र असम्पादित रूपमा २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गरियोस्।”
नेपालमा विभिन्न घटनापछि आयोग गठन हुने तर प्रतिवेदन दराजमै थन्किने परम्परा नयाँ नभएको अलायन्सले उल्लेख गरेको छ। प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाउनुपरेको तथा सिंहदरबारसहित सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी भएको घटना इतिहासले नबिर्सिने पनि उसले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदनमा जे लेखिएको छ, जसलाई दोषी ठहर गरिएको छ र जुन सिफारिस गरिएको छ, त्यो सम्पूर्ण सत्य बिना हेरफेर जनताले थाहा पाउनु उनीहरूको अधिकार हो।”
अलायन्सले घटनामा ज्यान गुमाएका ७६ जनाको न्यायका लागि आफ्नो पुस्ता निरन्तर आवाज उठाइरहने चेतावनी दिँदै ‘घडीको काँटा चलिरहेको’ उल्लेख गरेको छ।



















