ओमान—इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो तनावका बीच अमेरिकाले ओमानमा रहेका आफ्ना गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारलाई तत्काल देश छोड्न निर्देशन दिएको छ।
संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालय ले जारी गरेको सूचनामा ओमानमा सशस्त्र द्वन्द्व र आतंकवादको जोखिम बढेको उल्लेख गर्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मन्त्रालयले ओमानका लागि स्तर–३ यात्रा चेतावनी जारी गर्दै ‘सशस्त्र द्वन्द्व र आतंकवादको सम्भावित जोखिम’ का कारण त्यहाँ भ्रमण गर्ने निर्णय पुनर्विचार गर्न सुझाव दिएको छ।
त्यस्तै, यमन सँग सीमा जोडिएका क्षेत्रका लागि भने स्तर–४ अर्थात् ‘भ्रमण नगर्नुहोस्’ भन्ने कडा चेतावनी जारी गरिएको छ।
यो चेतावनी इरानको खार्ग टापु मा भएको हमलापछि इरानले दिएको कडा प्रतिक्रियापछि आएको हो। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच अमेरिकाले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको जनाएको छ।



















