काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोग नेपाल लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पितृ शोक परेका कारण उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी उपमहासचिव लेखराज भट्ट ले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार आदिवासी जनजाति क्लस्टरबाट भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरिएको छ ।

त्यस्तै खस–आर्य क्लस्टरबाट पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन् ।

थारु क्लस्टरबाट कृपाराम राणा, दलित क्लस्टरबाट विष्णुमाया विक र निता घतानीको नाम सिफारिस भएको छ ।

मधेसी क्लस्टरबाट रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) तथा मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकीको नाम सिफारिस गरिएको उपमहासचिव भट्टले बताए ।

बैठकले समानुपातिक सूची सिफारिससँगै अध्यक्ष ओलीका पिताको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको जनाएको छ ।