काठमाडौं— पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगम ले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र आपूर्ति व्यवस्थापनको दबाब देखाउँदै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा मूल्य बढाएको हो।

निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुनेगरी समायोजन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५४ रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँले वृद्धि भएको छ। तर नेपालमा स्थिरीकरण कोषबाट केही रकम व्यहोर्ने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।

मूल्य वृद्धि भएसँगै अब एलपि ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १२६ रुपैयाँ कायम भएको छ।

बजारमा खाना पकाउने एलपि ग्यासको अभाव बढ्दै गएपछि निगमले एकैपटक ठूलो परिमाणमा माग बढ्दा आपूर्तिले धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै शुक्रबारदेखि ७.१ किलोग्राम (आधा सिलिन्डर) मात्र ग्यास बजारमा पठाउन थालेको जनाएको छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण पछिल्लो समय भारतमा इन्धन संकट चुलिँदै गएको छ। नेपाल पेट्रोलियम पदार्थमा भारतमा निर्भर रहेकाले क्षेत्रीय तनावको प्रभाव नेपालमा पनि देखिन थालेको छ। मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण विश्वभर पेट्रोलियम पदार्थ र एलपि ग्यासको आपूर्तिमा असर परिरहेको छ।