दुबई— दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक सोमबार बिहान सबेरै ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्करमा भीषण आगलागी भएको छ। घटनापछि केही समयका लागि हवाई उडानहरू पनि प्रभावित भएका छन्।

दुबई मिडिया कार्यालयले घटनाको पुष्टि गर्दै विमानस्थल आसपास भएको ‘ड्रोन घटना’ का कारण फ्युल ट्याङ्क प्रभावित भएको जनाएको छ। आगो नियन्त्रणमा लिन नागरिक प्रतिरक्षा टोलीहरू निरन्तर खटिएको जनाइएको छ। हालसम्म कसैलाई चोटपटक लागेको जानकारी भने प्राप्त भएको छैन।

स्थानीय बासिन्दाका अनुसार रातको सन्नाटामा ठूलो विस्फोटको आवाज सुनिएको थियो। त्यसको केहीबेरमै विमानस्थल नजिक आकाशतर्फ उठिरहेका आगोका लप्का र बाक्लो कालो धुवाँ देखिएको थियो। घटनापछि आपत्कालीन उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने प्रयासमा जुटेका छन्।

यस घटनाले हवाई उडानमा पनि असर पारेको छ। उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडारका अनुसार दुबईतर्फ आउँदै गरेका कम्तीमा पाँच उडानलाई केही समयका लागि होल्डमा राखिएको थियो। कराची, काठमाडौँ, हानोई, अस्मारा र अम्मानबाट दुबई आउने उडानहरू अवतरणका लागि पर्खिरहेका थिए।

घटनापछि मुख्य विमानस्थलमै आक्रमण भएको हुनसक्ने अनुमान पनि गरिएको छ। यद्यपि यसको औपचारिक पुष्टि भने भएको छैन।

यसअघि इरानले दुबई र दोहा का केही क्षेत्रका बासिन्दालाई सम्भावित आक्रमणको चेतावनी दिँदै ती क्षेत्र खाली गर्न आग्रह गरेको थियो। इरानी सरकारी सञ्चारमाध्यमहरूले ती क्षेत्रमा अमेरिकी सैनिक उपस्थित भएकाले सम्भावित निशाना हुन सक्ने दाबी गरेका थिए।

आइतबार पनि इरानी अधिकारीहरूले संयुक्त अरब इमिरेट्सका व्यस्त बन्दरगाह तथा दुई अन्य पोर्ट सुविधाको आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएका थिए। दुबई विमानस्थल नजिक लागेको आगोले ती चेतावनीलाई अझ गम्भीर बनाएको बताइएको छ। एजेन्सी