काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा श्री कर्णको नेतृत्वपछि कार्यशैलीमा सकारात्मक परिवर्तन देखिन थालेको छ । उहाँको सक्रिय नेतृत्व र समन्वयात्मक दृष्टिकोणका कारण क्यानले केही महत्वपूर्ण कामहरू समयमै सम्पन्न गर्न थालेको सरोकारवालाहरूले बताएका छन् ।

लामो समयपछि पहिलो पटक अन्तर्राष्ट्रिय वायुसेवाहरूको अन्तर्राष्ट्रिय समर तालिका (समर सेड्युल) सम्बन्धी अनुमति तोकिएको समयभित्र प्रदान गरिएको छ । यसलाई नेपालमा सञ्चालनरत अन्तर्राष्ट्रिय वायुसेवाहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

नेपालमा रहेका विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाका कन्ट्री म्यानेजर तथा जीएसए (जनरल सेल्स एजेन्ट)हरूले यस विषयमा आफ्ना मुख्यालयहरूलाई जानकारी गराइसकेका छन् र क्यानको समयमै गरिएको निर्णयप्रति प्रशंसा व्यक्त गरेका छन् । यसले नेपालमा हवाई सेवा व्यवस्थापनमा सुधारको संकेत गरेको उनीहरूको भनाइ छ ।

सरोकारवालाहरूले श्री कर्णको नेतृत्वमा सुरु भएको यो सकारात्मक अभ्यास आगामी दिनहरूमा पनि निरन्तर कायम रहने विश्वास व्यक्त गरेका छन् ।