नयाँ दिल्ली— भारतको उत्तर प्रदेश राज्यको अलीगढमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक पुरुषले आफ्नी पत्नीको सुराकी गर्दै होटलसम्म पुगेर पत्नी र उनका प्रेमीको भण्डाफोर गरेका छन् ।

अलीगढको बुलन्दशहर, गुलावटी क्षेत्र निवासी आकाश कुमार र अलीगढकै चन्दनिया निवासी महिलाबीच करिब साढे तीन वर्षअघि प्रेम विवाह भएको थियो । पछिल्लो समय भने दुवैबीचको सम्बन्धमा तनाव बढ्दै गएको बताइएको छ ।

पत्नीमाथि शंका लागेपछि आकाशले उनलाई पछ्याउन थालेका थिए । सोही क्रममा एक दिन उनले आफ्नी पत्नी एक युवकसँग होटलमा प्रवेश गरेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थल पुगेपछि होटल प्रशासनसँग समन्वय गरी कोठामा छापा मार्दा आकाशकी पत्नी एक पुरुषसँगै फेला परेको बताइएको छ । यससँगै उनी विवाहेत्तर सम्बन्धमा रहेको र प्रेमीसँग होटल पुगेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ ।

घटना यत्तिमै सीमित छैन । आकाशकी पत्नीले यसअघि नै पति आकाशविरुद्ध उत्पीडनको उजुरी दिएकी थिइन् । दाइजोको निहुँमा आफूलाई यातना दिने गरेको आरोप लगाउँदै उनले प्रहरीमा उजुरी दिएको बताइन्छ ।

आकाशले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताएका छन् । प्रहरीले दुवै पक्षको बयान लिइसकेको र आगामी कारबाहीका लागि लिखित उजुरी आवश्यक पर्ने जनाएको छ । त्यसपछि मात्र के–कस्तो कानुनी प्रक्रिया अघि बढ्ने भन्ने तय हुने प्रहरीले जनाएको छ ।