भर्जिनिया — फेयरफ्याक्स काउन्टी प्रहरीले गत फेब्रुअरी २३ मा मान्टुआस्थित मार्गेट म्यानर अपार्टमेन्टमा भएको एक जघन्य घटनाको ‘बडी क्यामरा’ भिडियो सार्वजनिक गरेको छ।

उक्त घटनामा भर्खरै नेपालबाट अमेरिका पुगेका छत्र थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।

प्रहरीका अनुसार घटनालाई नियन्त्रणमा लिन खोज्दा छत्र थापा प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएका हुन्। केभिन डेभिस ले घटनास्थललाई अत्यन्तै भयावह र रक्तपातपूर्ण रहेको बताएका छन्।

कसरी भयो घटना?

घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत घर बाहिर पार्किङ क्षेत्रमा काम गरिरहेका थिए। सोही क्रममा अपार्टमेन्ट भित्रबाट चिच्याएको आवाज आएपछि उनी हतारिँदै भित्र पसेका थिए।

भित्र प्रवेश गर्दा उनले एक वर्षको बालक रोइरहेको र श्रीमती ममता थापा गम्भीर घाइते अवस्थामा बाहिर निस्कने प्रयास गरिरहेको देखे। ममताले ‘हामीलाई मार्‍यो’ भन्दै अन्तिम पटक सहयोगका लागि पुकार गरेकी थिइन्।

त्यसपछि उनले छत्र थापाले बिन्दा थापामाथि आक्रमण गरिरहेको देखेका थिए। छत्रले त्यसपछि सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए।

प्रहरीको हस्तक्षेप

घटनास्थलमा पुगेका प्रहरी अधिकारीले ढोका फोडेर भित्र प्रवेश गरेका थिए। त्यहाँ छत्र थापाले सन्तोषमाथि आक्रमण जारी राखेको देखेपछि प्रहरीले पटक–पटक हतियार छोड्न चेतावनी दिएका थिए।

तर आक्रमण नरोकेपछि प्रहरीले गोली चलाउनुपरेको थियो। गोली लागेपछि छत्र घटनास्थलमै ढलेका थिए।

प्रहरीले तत्कालै रोइरहेको बालकलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो। प्रहरी प्रमुख डेभिसका अनुसार समयमै हस्तक्षेप नभएको भए थप ज्यान जान सक्थ्यो।

कारण अझै अस्पष्ट

प्रहरी अनुसन्धानअनुसार छत्र थापाको कुनै आपराधिक इतिहास भेटिएको छैन। प्रारम्भिक जानकारीले उनी केही समयदेखि मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको संकेत गरेको छ।

तर उनले यस्तो भयावह कदम किन चाले भन्ने विषय अझै अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।

नेपाली समुदायमा शोक

यस घटनाले अमेरिकामा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। बिन्दा र ममता थापाको अन्तिम संस्कारमा ठूलो संख्यामा नेपालीहरू सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

घाइते सन्तोष बस्नेत उपचारपछि पुनर्स्थापनाको क्रममा छन्। उनी निको भएपछि आफ्नो छोरासहित परिवारसँग बस्न क्यालिफोर्निया जाने तयारीमा रहेका छन्।

प्रहरीले गोली चलाउने अधिकारीलाई सामान्य प्रशासनिक प्रक्रियाअनुसार अस्थायी रूपमा ‘प्रतिबन्धित ड्युटी’ मा राखेको जनाएको छ। प्रारम्भिक अनुसन्धानले प्रहरीको कदम कानुनअनुसार र ज्यान जोगाउने उद्देश्यले चालिएको देखिएको छ।