काठमाडौं — नेपाल जेन–जी फ्रन्ट ले आफ्ना संयोजक रक्षा बम माथि भएको दुर्व्यवहारको कडा भर्त्सना गरेको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा फ्रन्टले बिहीबार माइतीघर मण्डला मा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको दुर्व्यवहारलाई एक सभ्य लोकतान्त्रिक समाजका लागि असह्य भएको उल्लेख गरेको छ।

गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी समूहहरूले केही समयदेखि माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

फ्रन्टका अनुसार सहिद र घाइतेहरूको बलिदानप्रति जिम्मेवारीबोध गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाइरहेको अवस्थामा आन्दोलनकारीमाथि नै आक्रमण हुनु निन्दनीय छ।

विज्ञप्तिमा संयोजक बमलाई आन्दोलनको सुरुवातदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा दृढ रूपमा उभिने निडर नेतृत्वका रूपमा चित्रण गरिएको छ। आन्दोलनभित्र असहमति, पीडा र आक्रोश स्वाभाविक भए पनि त्यसको लक्ष्य राज्य हुनुपर्नेमा फ्रन्टले जोड दिएको छ।

राज्यले अझैसम्म प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा आफ्नै आन्दोलनकारीमाथि हुने दुर्व्यवहारले आन्दोलनलाई कमजोर बनाउने चेतावनी पनि दिइएको छ।

फ्रन्टले यस्ता अवरोध र आक्रमणका बाबजुद आफ्नो प्रतिबद्धता र मनोबल कत्ति पनि कमजोर नहुने स्पष्ट पारेको छ।

No description available.