काठमाडौं—नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने ऐतिहासिक निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न सिनेट बैठकले अबदेखि पार्टीको प्रत्यक्ष संरचनाभन्दा बाहिर रहेर स्वतन्त्र विद्यार्थी संगठनका रूपमा काम गर्ने निर्णय गरेको हो ।

नेविसंघले कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था कायम राख्ने भए पनि संगठनलाई पार्टीको प्रत्यक्ष प्रभाव र नियन्त्रणबाट अलग राख्दै कार्यगत स्वायत्तता अपनाउने प्रस्ताव पारित गरेको जनाएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले संगठनको विधानअनुसार सिनेट बैठक महत्वपूर्ण नीतिगत तथा वैधानिक निर्णय गर्ने थलो भएको उल्लेख गर्दै यस निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रूपमा स्थापित गरेको बताए ।

उनका अनुसार बदलिँदो समयसँगै विद्यार्थी आन्दोलनमा सुधार आवश्यक महसुस गरिएको थियो । “अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहने भए पनि कार्यप्रणाली स्वतन्त्र बनाउने निर्णय गरेका छौं,” उनले बताए ।

उनले थपे, पार्टीको भ्रातृ संस्थाका रूपमा रहँदा विद्यार्थी आन्दोलनमाथि नै प्रश्न उठ्न थालेकाले लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहँदै विद्यार्थीहरूको स्वतन्त्र आवाजका रूपमा नेविसंघलाई अगाडि बढाइनेछ ।

सिनेट बैठकले नेविसंघको आगामी अधिवेशन आगामी वैशाख २० र २१ गते गर्ने निर्णयसमेत गरेको छ ।