काठमाडौं—इजरायल र अमेरिकासँग इरानबीच जारी युद्धका कारण ८२ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्कन इच्छुक देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागअन्तर्गतको अनलाइन दर्ता प्रणालीमा मध्यपूर्वबाट ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले दर्ता भएकामध्ये करिब ६ हजार जनाले आफू असुरक्षित भएको भन्दै नाम दर्ता गरेको जानकारी दिए।
उनका अनुसार पछिल्ला दिन युद्ध चर्किँदै जाँदा देश फर्कन चाहनेको संख्या बढे पनि असुरक्षित महसुस गरेर दर्ता गर्नेको संख्या भने घट्दो क्रममा छ।
तनावका बीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको छ। धेरैजसोले श्रम स्वीकृतिसम्बन्धी जानकारी लिन सम्पर्क गरेको क्षेत्रीले बताए। मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर निगरानी र समन्वय गरिरहेको जनाएको छ।
त्यस्तै, हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ हज यात्रीसमेत स्वदेश फर्किसकेको जानकारी दिइएको छ। सरकार आवश्यक परे उद्धारका लागि तयार रहेको मन्त्रालयले जनाएको छ।
होर्मुजमा एक नेपाली नियन्त्रणमा
होर्मुज जलडमरूमध्य क्षेत्रमा एक नेपाली नागरिक पक्राउ परेका छन्। मन्त्रालयका अनुसार अमृत झा नामका नेपाली जहाजमा काम गर्ने क्रममा नियन्त्रणमा परेका हुन्।
परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानले जहाजका सबै क्रुमेम्बरलाई नियन्त्रणमा लिने क्रममा उनलाई पनि पक्राउ गरेको हो। यसबारे आफन्तमार्फत मन्त्रालयलाई जानकारी प्राप्त भएको बताइएको छ।