काठमाडौं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनादेशले चाहेमा प्रादेशिक संरचना हटाउन आफू तयार रहेको बताएका छन्।

सुनसरीको इटहरीमा नयन मिडिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधनमार्फत यस्तो निर्णय भए आफूलाई स्वीकार्य हुने स्पष्ट पारे। हालै सम्पन्न निर्वाचनपछिको बदलिएको राजनीतिक अवस्था र जनताको चाहनालाई आत्मसात गर्नुपर्ने उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले निर्वाचनबाट आएको नयाँ जनादेशप्रति सम्मान व्यक्त गर्दै भने,
“म आफैं प्रदेशको मुख्यमन्त्री भए पनि, यदि नयाँ जनादेशले संविधान संशोधनका माध्यमबाट प्रादेशिक संरचना उपयुक्त छैन भन्ने ठहर गरेर हटाउन चाहन्छ भने, म त्यसलाई पूर्ण रूपमा स्वीकार्न तयार छु।”

उनले जनताले दिएको सन्देशलाई राजनीतिक दल र नेताहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए। साथै, देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासका लागि नयाँ सम्भावनाका ढोका खुलेको उल्लेख गर्दै उनले उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरूलाई सफल कार्यकालको शुभकामना पनि दिए।