काठमाडौं— नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
शुक्रबारदेखि जारी बैठकअन्तर्गत आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसमिति बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएको राजीनामापत्र शुक्रबारको बैठकमा पेश गरिएको थियो। सोही विषयमा विस्तृत छलफलपछि अधिकांश नेताहरूको धारणा सुन्दै अन्ततः राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको बताइएको छ।
बैठक उपसभापति शर्माको अध्यक्षतामा सञ्चालन भएको थियो। सभापति थापा अनुपस्थित रहेपछि उनको कुर्सी खाली राखेर बैठक अघि बढाइएको थियो।
यसै बैठकमा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनका विषयमा पनि छलफल गरिएको जनाइएको छ।


















