विराटनगर — मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २४ वर्षीय विपिन दाहाल आइतबार साँझ पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा–५ बलियाबाट उनलाई साँझ करिब ६:४० बजे नियन्त्रणमा लिएको हो।पैदल हिँडिरहेका दाहालमाथि शंका लागेपछि खानतलासी गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सानो–सानो प्लास्टिकका पोका बनाई लुकाएर राखिएको १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर फेला परेको हो।
हाल दाहाल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन्। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




















