काठमाडौं—जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा पाँच जना सामाजिक सञ्जाल इन्फ्लुएन्सर संलग्न रहेको जाँचबुझ आयोगले ठहर गरेको छ। प्रतिवेदन अनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने भ्रामक प्रचारमा संलग्न रहेका छन्।

आयोगका अनुसार भदौ २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शवको कंकाल भेटिएको भन्ने गलत सूचना फैलाइएको थियो। त्यसैगरी भदौ २४ गते ३२ जना हराइरहेका प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएको भन्ने भ्रामक प्रचार गरिएको उल्लेख छ।

यस्ता गलत सूचना फैलाउने कार्यमा माथि उल्लेखित इन्फ्लुएन्सरहरू संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, एक विमान परिचारिकाले हिमालयन एयरलाइन्समार्फत तत्कालीन प्रधानमन्त्री केपी ओली दुबई भागेको र आफूले नै देखेको भन्ने झुटो प्रचार गरेको पनि आयोगले जनाएको छ। उक्त दाबीको खण्डन गर्दै हिमालयन एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्नुपरेको थियो।

यसै क्रममा अर्को मिडियाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भीडले घिसारेर कुटपिट गरेको भन्ने गलत समाचार प्रचार गरेको पाइएको छ। साथै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट बच्न नदीतर्फ भाग्दै गरेको र उनलाई कुटपिट गरिएको दृश्यसमेत भ्रामक रूपमा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ।

आयोगले पूर्वराजालाई पुनः स्थापना गर्ने उद्देश्यले नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने समाचार पनि सामाजिक सञ्जालमा भ्रामक रूपमा फैलाइएको जनाएको छ।

त्यसैगरी पत्रकार दिलभूषण पाठकले हिल्टन होटलमा शेरबहादुर देउवा र आरजु देउवाका छोरा जयवीर सिंह देउवाको लगानी रहेको भन्दै तथ्यहीन समाचार प्रसारण गरेको उल्लेख छ। यस्तो प्रचारका कारण हिल्टन होटलमाथि आक्रमण हुन पुगेको र यसले वैदेशिक लगानीमा नकारात्मक प्रभाव पारेको आयोगको निष्कर्ष छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। यद्यपि प्रतिवेदन बाहिरिएको छ र त्यसमा कलाकारदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म भ्रामक प्रचारमा संलग्न रहेको उल्लेख गरिएको छ।