काठमाडौं—भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा टिबेटियन ओरिजिनल ब्लड (टिओबी) समूहको प्रवेशपछि प्रदर्शनकारी भीड थप उत्तेजित भएको जाँचबुझ आयोगको प्रतिवेदनले उल्लेख गरेको छ।
भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले यस्तो निष्कर्ष निकालेको हो।
प्रतिवेदन अनुसार भदौ २३ गते मध्याह्न करिब १२ बजे मोटरसाइकलमा सवार टिओबी समूह बानेश्वर क्षेत्रमा प्रदर्शनरत भीडमा प्रवेश गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। उक्त समूह चाबहिल, गौशाला, धोबिखोला करिडोर लगायतका क्षेत्रबाट करिब एक सय मोटरसाइकलसहित बानेश्वर पुगेको उल्लेख छ।
बानेश्वर–बिजुलीबजार क्षेत्रमा पुगेपछि मोटरसाइकल ‘पड्काउँदै’ भीडमा प्रवेश गर्दा प्रदर्शनकारीहरू थप उक्सिएको प्रतिवेदनमा जनाइएको छ। त्यसपछि भीड उग्र बन्दै प्रहरीमाथि ढुंगा, पानीका बोतल, रड, इँटा तथा गुलेली प्रहार गर्दै पश्चिम गेटबाट संघीय संसद भवन परिसरमा प्रवेश गर्ने प्रयास गरेको उल्लेख गरिएको छ।
प्रहरीले माइकिङमार्फत सम्झाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि बल प्रयोग गर्नुपरेको भन्दै सुन्दर तिवारी सहितका प्रहरी अधिकारीहरूको भनाइ पनि प्रतिवेदनमा समेटिएको छ।
यसैबीच, घटनासँग सम्बन्धित टिओबी समूहका तेन्जीन दावा लामा लाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।




















