काठमाडौं—भदौ २४ मा नख्खु कारागारमा भएको घटनासम्बन्धी जाँचबुझका क्रममा रवि लामिछाने लाई कारागारबाट बाहिर निकाल्दा आतंकपूर्ण अवस्थाबीच हस्ताक्षर गराइएको दाबी सार्वजनिक भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगसमक्ष तत्कालीन जेलर सत्यराज जोशी ले आफूलाई करकाप र ज्यानको त्रास देखाएर अज्ञात कागजातमा हस्ताक्षर गराइएको बयान दिएका हुन् ।।

जोशीका अनुसार लामिछानेका समर्थकहरू नाराबाजी गर्दै कारागार परिसरभित्र प्रवेश गरेका थिए। त्यसपछि आफू तथा अन्य कर्मचारीहरू ज्यान जोगाउन अस्पताल भवनभित्र लुकेका थिए। सोही क्रममा भीडले अत्यधिक दबाब दिँदै कागजातको विषयवस्तु थाहा नपाई हस्ताक्षर गर्न बाध्य बनाएको उनको दाबी छ।

“जीवन–मरणको त्रासमा पारेर हस्ताक्षर गराइयो, त्यसको कुनै वैधानिक हैसियत छैन,” जोशीले आयोगसमक्ष दिएको बयानमा उल्लेख गरेका छन् ।

घटनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी का केही नेताहरू पनि नख्खु कारागार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उक्त दिन कारागारमा १ हजार २८१ कैदीबन्दी रहेकोमा घटनापछि ७४९ जना फर्किएको, ७० जनालाई अन्यत्र सारिएको र ४५९ जना अझै फरार रहेको पनि जोशीले बताएका छन्।

यस घटनाले कारागार सुरक्षा, कानुनी प्रक्रिया तथा भीड नियन्त्रणको विषयमा गम्भीर प्रश्न उठाएको छ। आयोगको थप निष्कर्षले घटनाको वास्तविकता अझ स्पष्ट पार्ने अपेक्षा गरिएको छ।