काठमाडौँ— नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा उतारेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले हाल सडक आन्दोलनमा सक्रिय छ।

नेता पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत ७७ जना नेपालीको ज्यान जानु सामान्य घटना नभएको उल्लेख गर्दै त्यसको पीडा वास्तविक भएको र पीडित परिवारको न्यायको माग जायज रहेको बताएका छन्। तर उनले न्याय प्रक्रिया अनुसार नै स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

‘जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्। केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि?’ भन्दै उनले सरकारलाई प्रश्न गरेका छन्।

आफूलाई एमाले कार्यकर्ताको चिन्ता रहेको उल्लेख गर्दै उनले पार्टीलाई जीवन सुम्पेका हजारौं कार्यकर्तालाई सडकमा उतार्नु उचित नभएको बताएका छन्। मुलुकलाई मुठभेडतर्फ धकेल्ने कुनै पनि गतिविधि कसैको हितमा नहुने उनको भनाइ छ।

‘त्यसैले न्याय होस्—तर निष्पक्ष र प्रक्रियागत,’ उनले बताएका छन्।