काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गितेन्द्रबाबु राई (जिबी)सहितको मुद्दा फिर्ताविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ।
यसअघि बिहीबार सुनुवाइ नसकिएपछि उक्त मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा मंगलबारदेखि सुनुवाइ अगाडि बढेको हो।
रिट निवेदकको बहस सकिएपछि हाल महान्यायाधिवक्ताको कार्यालय र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्। उनीहरूको बहस सकिएपछि जवाफी बहस हुनेछ। त्यसपछि लामिछाने र राईसहित सहकारी प्रकरणमा संलग्न प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता हुने वा नहुनेबारे आदेश आउनेछ।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।
महान्यायाधिवक्ताको निर्देशनपछि चारवटा जिल्ला सरकारी वकिलको कार्यालयले सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिइसकेका छन्। तर जिल्ला अदालतहरूले सर्वोच्च अदालतमा विचाराधीन उक्त रिटको टुंगो लागेपछि मात्रै निर्णय गर्ने आदेश दिएका छन्।
कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारी प्रकरणमा लामिछानेलाई ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधका कसुरमा प्रतिवादी बनाइएको छ। चितवनमा भने सरकारी वकिलको कार्यालयले ती कसुरमा प्रतिवादी नबनाउने निर्णय गरेको थियो।
यसअघि लामिछानेले आफूविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुरोध गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। सोही आधारमा अभियोग संशोधन गर्ने निर्णय गरिएको हो।



















