काठमाडौँ — पाकिस्तानको पृथकतावादी समूह बालोचिस्तान गणतन्त्रसँग आबद्ध नेता मिर यार बालोच ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएका छन्।
‘बलोच समुदाय नेपाल’ का तर्फबाट जारी सन्देशमा शाहको नेतृत्वलाई नेपालको लागि ‘आशाजनक अध्याय’ का रूपमा चित्रण गरिएको छ।
“बलोच समुदाय नेपाल, बलोचिस्तान गणतन्त्रका नयाँ मन्त्रिपरिषद् तथा सम्मानित प्रधानमन्त्रीको पद ग्रहण गर्नुभएका बालेन्द्र शाहलाई हार्दिक बधाई व्यक्त गर्दछ,” सन्देशमा भनिएको छ। “तपाईंको नेतृत्वले तपाईंको राष्ट्रका लागि एक आशाजनक अध्यायको सुरुवात गरेको छ र हामी विश्वस्त छौँ कि तपाईंको दृष्टिकोण, ऊर्जा र समर्पणले नेपाललाई अझ बढी प्रगति र समृद्धितर्फ मार्गदर्शन गर्नेछ।”
सन्देशमा आपसी सम्मान, सहकार्य तथा शान्ति र विकासका साझा आकांक्षामा आधारित ‘दुई राष्ट्र’ बीच मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने र सुदृढ कूटनीतिक सम्बन्ध स्थापना गर्ने अपेक्षा व्यक्त गरिएको छ। “यो नयाँ यात्राले तपाईंको नेतृत्वलाई सफलता प्रदान गरोस् र हाम्रा जनताबीचको सम्बन्ध अझ मजबुत बनाओस्,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
यसअघि निर्वासित तिब्बती सरकारसँग सम्बन्धित वृत्तबाट पनि यस्तै प्रकृतिको बधाई सन्देश सार्वजनिक भएको थियो।
के हो बलोचिस्तान?
बलोचिस्तान दक्षिण–पश्चिम एसियामा अवस्थित एक ठूलो ऐतिहासिक तथा भौगोलिक क्षेत्र हो। यो क्षेत्र मुख्यतः सुक्खा, पहाडी तथा मरुभूमि भू–भागले बनेको छ र अरब सागरको तटसम्म फैलिएको छ।
यो क्षेत्र मुख्य रूपमा तीन देशमा विभाजित छ—पाकिस्तान, इरान र अफगानिस्तान।
सबैभन्दा ठूलो भाग पाकिस्तानको बलोचिस्तान प्रान्तमा पर्दछ, जसको राजधानी क्वेटा हो। प्राकृतिक स्रोत (ग्यास, खनिज, सुन, तामा)ले धनी भए पनि विकासका हिसाबले यो क्षेत्र पछाडि परेको मानिन्छ।
ऐतिहासिक रूपमा यो क्षेत्र विभिन्न साम्राज्यहरूको प्रभावमा रह्यो। सन् १९४७ मा पाकिस्तान स्थापना भएपछि कलात राज्यलाई पाकिस्तानमा गाभिएको थियो, जसलाई केही बलोच राष्ट्रवादीहरूले अस्वीकार गर्दै आएका छन्। त्यसयता स्वतन्त्रताको मागसहित आन्दोलन चल्दै आएको छ।
को हुन् मिर यार बालोच?
मिर यार बालोच बलोच राष्ट्रवादी नेता, लेखक, मानवअधिकारकर्मी तथा पत्रकारका रूपमा चिनिन्छन्। उनी बलोचिस्तानलाई पाकिस्तानबाट अलग स्वतन्त्र राष्ट्र बनाउनुपर्ने पक्षमा सक्रिय छन्।
सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने प्रयास गर्दै आएका उनले संयुक्त राष्ट्रसंघसँग हस्तक्षेपको मागसमेत गरेका छन्। पाकिस्तान सरकार र सेनामाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाउँदै आएका उनी चीन–पाकिस्तान आर्थिक करिडोरप्रति पनि आलोचनात्मक छन्।
बलोचिस्तानको मुद्दा जटिल र विवादास्पद मानिन्छ। पाकिस्तान सरकारले यसलाई आन्तरिक मामिला बताउँदै अलगाववादी गतिविधिलाई अस्वीकार गर्दै आएको छ भने राष्ट्रवादी समूहहरूले आत्मनिर्णयको अधिकारको माग गरिरहेका छन्।




















