काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक सुनिता खड्काले टिकटकमार्फत धम्की दिएको आरोप लगाउँदै ती व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न र आफ्नो परिवारसहित घरको सुरक्षाको व्यवस्था गर्न माग गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा उनले ‘सुनिता खड्का’ नामको टिकटक आईडीको स्क्रिनसट सार्वजनिक गर्दै धम्की आएको बताएका थिए। उक्त विषयमा उनले भिडिओ र फोटो प्रमाणसमेत साइबर ब्युरोमा बुझाएको जानकारी दिएका छन्।

आफू प्रतिपक्षको भूमिकामा सक्रिय रहेका बेला यस्तो धम्की आएको साम्पाङको भनाइ छ।