काठमाडौ—शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्रै रोक्ने निर्णय गरिएको स्पष्ट पारेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले एसइई सकाएर कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित ट्युसन सेन्टर र ब्रिज कोर्स बन्द गर्ने निर्णय भएको बताए।
‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,’ उनले भने।
मन्त्रालयले आइतबार ‘विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने’ निर्णयसहित सूचना सार्वजनिक गरेको थियो।
तर, उक्त निर्णयप्रति व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान मन्त्रालयले वेबसाइटबाट सूचना हटाएको छ।




















