काठमाडौँ— नेकपा सम्बद्ध जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर कागज गराई छाडेको छ ।
मंगलबार बिहान करिब ११ बजे अनामनगरबाट सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ’ भन्दै उनलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएलगत्तै उनलाई भद्रकालीस्थित प्रहरी परिसर पुर्याइएको थियो ।
सरकारको आलोचना गरेको आरोपमा आफूलाई नियन्त्रणमा लिइएको तिमल्सिनाले बताएकी छन् ।
प्रहरीले आगामी दिनमा सरकारविरुद्ध कुनै पनि भिडियो नबनाउन तथा भिडियो बनाउनुपरे गृह मन्त्रालयको अनुमति लिनुपर्ने सर्तमा लिखित कागज गराएको उनले जानकारी दिइन् ।
कागज गराएपछि मात्र उनलाई छाडिएको हो ।
तत्कालीन माओवादी निकट तिमल्सिनालाई पार्टीले गत २९ असोजमा जेन–जी रेड फोर्सको संयोजकको जिम्मेवारी दिएको थियो । उक्त संगठनले देशभर सञ्जाल विस्तार गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


















