काठमाडौं—सर्वोच्च अदालत ले सर्लाहीका कुमार पौडेल को गैरन्यायिक हत्या प्रकरणमा अनुसन्धान गर्न परमादेश दिएपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल सहित उच्च अधिकारीमाथि अनुसन्धानको बाटो खुलेको छ।
थापा गृहमन्त्री रहेका बेला उक्त घटना भएको र अदालतले १० जना अधिकारीमाथि अनुसन्धान गर्न आदेश दिएकाले उनी पनि अनुसन्धानको दायरामा पर्न सक्ने देखिएको हो। उक्त परमादेश गत २९ फागुनमा जारी गरिएको हो।
अदालतले तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत अन्य अधिकारीमाथि समेत अनुसन्धान गर्न आदेश दिएको छ। आदेशपछि सम्बन्धित निकायहरूले जाहेरीमाथि अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।
यसअघि प्रहरीमा दर्ता गरिएको जाहेरी अगाडि नबढेपछि पीडित परिवारले अदालत गुहारेको थियो। अदालतले यसअघि पनि २०७८ असोज १२ मा अनुसन्धान गर्न आदेश दिएको थियो।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेल को संयुक्त इजलासले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका नाममा परमादेश जारी गरेको हो।
पीडित पक्षका अनुसार तत्कालीन गृहमन्त्री थापाको निर्देशनमा प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले पौडेलको हत्या गरेको आरोप छ। राष्ट्रिय मानव अधिकार आयोग ले समेत घटनामा प्रहरी नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको थियो।
अब जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा पेश भएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइनेछ।



















