भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत एकैदिन ६० जना पक्राउ परेका छन्।
प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार शनिबारदेखि विशेष ‘स्वीप अपरेसन’ सुरु गरिएको हो। उक्त अपरेसनमा जिल्लाअन्तर्गत रहेका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग तथा अन्य युनिटहरूलाई परिचालन गरिएको उनले जानकारी दिए।
खड्काले भने, “यस्ता अपरेसन विगतमा पनि हुँदै आएका थिए। शनिबारदेखि पुनः सक्रिय रूपमा सञ्चालन गरेका हौँ। पक्राउ परेकामध्ये अपराधिक घटनामा संलग्न नभएको पाइएमा छानबिनपछि छाडिनेछ।”
प्रहरीका अनुसार सार्वजनिक स्थलमा शान्ति–सुरक्षा भंग गर्ने, शंकास्पद गतिविधिमा संलग्न हुने, लागुपदार्थ सेवन गर्ने तथा समूहमा बसेर होहल्ला र अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















