काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु हुने भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन स्थगित गरेको थियो। आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब नागरिकले अनलाइनमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले सोही विवरण प्रयोग गरी अनलाइन प्रणालीबाट नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका व्यक्तिले भने आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो तथा औँठाछापसहितको जैविक विवरण दर्ता गर्न सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।

यसका साथै मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने काम पनि अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र विभिन्न मतदानस्थल भएमा पायक पर्ने स्थानमा नाम सार्ने तथा नागरिकताअनुसार विवरण सच्याउने सुविधा समेत उपलब्ध गराइएको आयोगले जनाएको छ।

आयोगले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न तथा अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।