काठमाडौँ—बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार गठन भएको दुई सातामै ठूलो परिमाणमा वैदेशिक ऋण लिइएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पनि ऋण स्वीकृत गरेको छ । अघिल्लो बैठकले १८५ मिलियन डलर अर्थात साढे २७ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको मसी नसुक्दै आज पनि ८५ अर्ब रुपैयाँ बराबरको ऋण लिन स्वीकृति दिइएको छ ।
यसअघि रास्वपा र उसका केही नेताले अनुदान भए ठीक अन्यथा ‘ऋण लिएर देश चलाउनुहुँदैन’ भन्ने धारणालाई व्यापक बनाएका थिए । अहिले सोही पार्टीको सरकारले धमाधम विदेशी ऋण स्वीकारेपछि चौतर्फी आलोचना भएको छ । सांसदहरुले संसद् बैठकमा नै विदेशी ऋणबारे प्रश्न उठाएका छन् । विगतका सरकारले ऋण लिएको भन्दै सार्वजनिक रुपमा व्यापक असन्तुष्टि जनाएका वर्तमान अर्थमन्त्रीसमेत रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेको एउटा भिडियो हाल भाइरल भएको छ ।
राजश्व र वैदेशिक अनुदान सुकिरहेको अवस्थामा सरकारले वैदेशिक ऋण लिएको भन्दै उनले झण्डै एक वर्षअघिको बजेट निर्माणताका विरोध जनाएका थिए । उनले भनेका थिए,‘झण्डै हामीले ६०० अर्ब ऋण बोक्दैछौं । यो १९ सय ६४ खर्च गर्ने हो भने राजश्व सुकिरहेको अवस्था, वैदेशिक अनुदान सुकिरहेको अवस्थामा यो फुक्काफाल गरेर ल्याइएको बजेट छ ।’
उनको चर्को विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन योञ्जनले ऋण लिएर जसले पनि देश चलाउन सक्ने बताएका छन् । लेखेका छन्,‘ऋण गरेर त जसले पनि लिड गर्न सक्छ ।’ प्रेम लोप्चन तामाङ्गले आफूले गर्दा जेपनि ठीक भन्नेहरुसँग आश गर्न नसकिने धारणा राखेका छन् । ‘अरुको पालामा जे पनि बोल्ने, आफ्नो पालोमा कहाँदेखि कसरी ऋण पाउँछ लिने । अरुले गरे नराम्रो, आफूले गरे राम्रो । यस्तोहरुबाट के आश गर्नु खै’,उनको भनाइ छ । जन आस्था बाट




















