पोखरा — पोखराको सभागृहचोकमा बुधबार साँझ एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

साँझ करिब ७ बजे भएको उक्त घटनामा अज्ञात युवकले सडकपेटीमा उभिरहेकी महिलामाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

हत्या हुनेमा पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ। पोखरा–८ स्थित सभागृहचोकदेखि शिवालयचोकतर्फ जाने सडकखण्डको दायाँपट्टि उभिरहेकी उनीमाथि अचानक हतियार प्रहार भएको थियो। आक्रमणपछि उनी चिच्याउँदै ढलेकी थिइन्।

गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

आक्रमणपछि संलग्न युवक मोटरसाइकलमा भागेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।