न्युयोर्क — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा यो साता उल्लेख्य गिरावट आएको छ। इरान र अमेरिकाबीच स्थायी युद्धविरामका लागि हुन लागेको वार्ताले सकारात्मक संकेत दिएपछि शुक्रबार तेलको मूल्य ओरालो लागेको हो।

यो गिरावट सन् २०२२ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट भएको तथ्यांकले देखाएको छ। पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच दुई साताको युद्धविराम भएपछि बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो।

शुक्रबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ०.८ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.२० डलरमा झरेको छ। यो साता समग्रमा ब्रेन्ट क्रुड १२.७ प्रतिशतले घटेको छ।

त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई)को मूल्य १.३ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.५७ डलर कायम भएको छ। डब्लुटीआईका लागि यो गिरावट सन् २०२० को कोरोना महामारीपछिकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।

मूल्य घटे पनि बजारमा आपूर्तिसम्बन्धी चिन्ता भने अझै कायम छ। विशेषगरी स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल ढुवानी ९० प्रतिशतभन्दा बढीले अवरुद्ध छ। तेहरानले आफ्नो जलक्षेत्रभित्र मात्रै जहाज सञ्चालन गर्न चेतावनी दिएपछि विश्वकै महत्वपूर्ण यो मार्गबाट आपूर्ति सामान्य हुन सकेको छैन।

इरानले शान्ति सम्झौतापछि जलमार्ग प्रयोग गर्ने जहाजसँग शुल्क लिने प्रस्ताव अघि सारेको छ, जसमा पश्चिमा देश र संयुक्त राष्ट्रसंघले आपत्ति जनाएका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण मध्यपूर्वका ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। ६० भन्दा बढी ऊर्जा केन्द्रहरू ड्रोन र मिसाइल आक्रमणको निशानामा परेका छन्।

मध्यपूर्वका उत्पादकहरूले मार्चमा दैनिक ७५ लाख ब्यारेल तेल उत्पादन कटौती गरेका थिए भने अप्रिलमा यो संख्या ९१ लाख ब्यारेल पुग्ने अनुमान गरिएको छ। यसले यस वर्ष विश्व बजारमा तेल अभाव हुन सक्ने विश्लेषकहरूको आकलन छ।

यसैबीच, साउदी अरबको तेल उत्पादन क्षमता दैनिक ६ लाख ब्यारेलले घटेको छ भने पूर्व–पश्चिम पाइपलाइनमार्फत हुने ढुवानीमा पनि कमी आएको छ। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रतिबन्धित रुसी तेल खरिदमा दिइएको छुटलाई निरन्तरता दिने तयारी गरेको छ।

पश्चिम एसियाली उत्पादकहरूले भने जलमार्ग खुल्ने प्रतीक्षामा एसियाली रिफाइनरीहरूसँग तेल लोड गर्ने तयारीबारे छलफल सुरु गरिसकेका छन्। आगामी साता वासिङ्टनमा हुने वार्ताले युद्धविरामलाई स्थायी रूप दिएमा तेलको मूल्य थप स्थिर हुने अपेक्षा गरिएको छ।