काठमाडौं—मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इन्धनको हालैको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका उनले मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले एक हप्ताभित्र निर्णय नसच्याइए कडा आन्दोलनमा उत्रिने बताए। उनका अनुसार महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन अघि बढाइनेछ।
सरकारलाई लक्षित गर्दै उनले विद्यार्थी संगठन खारेज गर्ने प्रयास नगर्न चेतावनी दिँदै आवाज उठाउन यस्ता संगठन आवश्यक रहेको उल्लेख गरे।
विगतमा सानो मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको स्मरण गराउँदै उनले अहिले ठूलो वृद्धि हुँदा विद्यार्थी संगठन मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे।




















