काठमाडौं—गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै नियन्त्रणमा लिइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि पुगेका उनीहरूले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका थिए।
प्रहरीले सुरक्षाको कारण देखाउँदै उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका युवाहरूको परिचय भने खुलाइएको छैन।
पछिल्लो समय सेयर कारोबारमा विवादित एक व्यापारीसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको आरोप सार्वजनिक भएपछि उनको आलोचना चुलिएको छ। उक्त विषयमा सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा समेत बहस भइरहेका छन्।
यसैबीच, विपक्षी दल तथा नागरिक समाजका केही प्रतिनिधिहरूले घटनाबारे छानबिन गर्न र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।




















