काठमाडौं—बजारमा केराको मूल्य आकासिँदै गएको विषयमा किसानहरूले आफूहरूले मूल्य नबढाएको स्पष्ट पारेका छन्।

नेपाल केरा उत्पादक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बजारमा देखिएको मूल्यवृद्धि किसानका कारण नभएको जनाएको हो। महासंघका अध्यक्ष विष्णुहरि पन्तले विचौलियाहरूको चलखेलका कारण मूल्य बढेको आरोप लगाउँदै तत्काल अनुगमन गर्न सरकारसँग माग गरेका छन्।

उनले बजारमा केराको केही अभाव रहेको स्वीकार गरे पनि किसानले मूल्य नबढाएको दाबी गरे। “राज्यका निकायले अनुगमन गरेर मूल्य कहाँ बढेको हो पत्ता लगाउनुपर्छ। किसानको तर्फबाट मूल्य बढेको छैन,” अध्यक्ष पन्तले भने।

उनका अनुसार हाल बजारमा करिब ८० हजार मेट्रिक टन केरा आवश्यक भए पनि उत्पादन करिब ६० हजार मेट्रिक टन मात्रै रहेको छ। यद्यपि साउन महिनापछि उत्पादन बढ्ने र अभावको समस्या समाधान हुने उनले बताए।

महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत सरकारलाई आग्रह गरेको छ।