काठमाडौँ— नेपाल शिक्षक महासंघले नेपाल शिक्षक महासंघ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल को अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा प्रधानाध्यापक सन्तबहादुर मगरलाई स्वागत गर्न नआएको भन्दै सांसद पोखरेल जंगिएको घटनालाई महासंघले अशोभनीय ठहर गरेको हो।

महासंघले जारी गरेको विज्ञप्तिमा विद्यालयको हाताभित्र प्रधानाध्यापकमाथि गरिएको व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको उल्लेख गरेको छ। “हरेक पदाधिकारीको आफ्नो जिम्मेवारी र क्षेत्राधिकार हुन्छ, त्यसलाई बेवास्ता गर्दै गरिएको यस्तो व्यवहारले जननिर्वाचित प्रतिनिधिप्रतिको विश्वाससमेत कमजोर बनाएको छ,” विज्ञप्तिमा भनिएको छ।

गत वैशाख १० गते गृहजिल्ला पुगेका सांसद पोखरेललाई विद्यालयले बाजागाजासहित स्वागत गरेको थियो। तर, सो क्रममा प्रधानाध्यापक र केही कर्मचारी अन्य काममा व्यस्त रहेपछि उनी आक्रोशित बनेका थिए। उनले प्रधानाध्यापकलाई हप्काउँदै आफू पूर्वअतिरिक्त महानिरीक्षक भएको भन्दै धाक लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

घटनापछि सर्वत्र आलोचना बढेपछि सांसद पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

महासंघले घटनाको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता व्यवहार दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ।