काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता सुधन गुरुङ माथि लागेको आरोपबारे चाँडै आधिकारिक छानबिन प्रक्रिया अगाडि बढाइने बताएका छन्।

बुधबार सिंहदरबार मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिनको स्वरूपबारे पनि छिट्टै स्पष्ट जानकारी दिने बताए।

पछिल्लो समय गुरुङसम्बन्धी सार्वजनिक टीकाटिप्पणी र विवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै लामिछानेले सत्यतथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धता जनाए।

उनले पार्टीभित्र कसैलाई पनि कानुन र पद्धतिभन्दा माथि राख्न नसकिने स्पष्ट पार्दै दोषी देखिएमा विधानअनुसार कारबाही र निर्दोष भए न्याय सुनिश्चित गरिने बताए।

सभापति लामिछानेले पार्टीले विगतदेखि नै आन्तरिक अनुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै आएको स्मरण गराउँदै यस प्रकरणलाई पनि सोही गम्भीरताका साथ लिइने जानकारी दिए। साथै अनुसन्धान प्रक्रिया पारदर्शी बनाइने र जनताले उठाएका प्रश्नहरूको उचित सम्बोधन गरिनेमा जोड दिए।

पार्टीको छवि र जनविश्वास जोगाउन यो विषयको छिनोफानो छिटो हुनुपर्ने उनको भनाइ छ। छानबिनका लागि आवश्यक समिति गठन गरी तत्काल काम सुरु गर्न निर्देशन दिइएको उल्लेख गर्दै प्रक्रियागत ढिलासुस्ती नहुने उनले दाबी गरे।